- 28 Jan, 2026
अन्तर्राष्ट्रिय म्युजिक भिडियो निर्देशनमा फुर्वाको ठूलो फड्को
काठमाडौं– फुर्वा शेर्पाको परिचय कुनै एउटा क्षेत्रसम्म सीमित छैन । उनी एक कुशल टेलिभिजनकर्मी, टिभी शो निर्माता, अनुभवी म्युजिक भिडियो निर्देशक, फिल्म निर्देशकमात्र नभई गायकसमेत हुन् । उनको बहुआयामिक क्षमताले उनलाई नेपाली मिडिया तथा फिल्म क्षेत्रमा एक सशक्त नाम बनाएको छ ।
पञ्जाबी गीत निर्देशनमा फुर्वाको इन्ट्री
टेलिभिजन तथा फिल्म क्षेत्रमा दशकभन्दा बढी समयदेखि सक्रिय फुर्वाले हालै एक पञ्जाबी गीतको निर्देशन गरेर अन्तर्राष्ट्रिय म्युजिक भिडियो निर्देशनको क्षेत्रतर्फ ठूलो फड्को मारेका छन् । ‘खर्चा मार दा’ बोलको उक्त गीतमा गायक सरव सिंहको स्वर र संगीतमा तयार भएको छ भने गीतको शब्द बब्बी नटियानले रचना गरेका हुन् ।
भिडियोको छायांकन र लोकेसन चयन
भिडियोको छायांकन यूएईको दुबई शहरमा गरिएको हो, जहाँका आकर्षक लोकेसनमा निर्देशक फुर्वाले आफ्नो दृश्य सौन्दर्यको दृष्टिकोण उजागर गरेका छन् । छायांकन तथा सम्पादनको जिम्मा लिएका नितिन चन्द स्वयं पनि म्युजिक भिडियो निर्देशक हुन् । फुर्वाका अनुसार भिडियो छायांकनमा अत्याधुनिक क्यामेरा प्रविधि, सिनेम्याटिक लाइटिङ तथा आकर्षक डिजाइनहरूको प्रयोग गरिएको थियो, जसले भिडियोमा एक ग्ल्यामरस र प्रोफेशनल लुक्स सिर्जना गरेको छ ।
अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता
‘खर्चा मार दा’ भिडियोमा अभिनय गर्ने कलाकारहरु पनि विविध पृष्ठभूमिबाट आएका छन् । प्रमुख अभिनेत्री कमर भारतकी पञ्जाबी कलाकार हुन् भने इस्राए जेब्बारी मोरक्कन नागरिक हुन् । कोरियोग्राफीको जिम्मा दक्षिण भारतका सुरेश कुमारले सम्हालेका छन् । त्यस्तै, कोरस डान्सरहरू पनि विभिन्न देशका कलाकारहरू हुन्, जसले भिडियोलाई सांस्कृतिक रूपमा झनै समृद्ध बनाएको छ ।
निर्देशनमा देखिएका चुनौती
फुर्वाका लागि निर्देशनको क्रममा सबैभन्दा चुनौतीपूर्ण पक्ष भाषा थियो । ‘भाषा फरक भएकाले टेक पूरा भएपछि पनि संवाद वा भाव ठीक आयो कि भनेर दोहोर्याएर जाँच्नु पर्थ्यो । अनुवादको सहाराले कन्टेन्ट बुझेर निर्देशन गर्नु पर्यो,’ फुर्वाले सुनाए । यद्यपि, पेशागत अनुभवका कारण उनले सबै चुनौतीहरूलाई सहजै व्यवस्थापन गरेका थिए ।
संगीतको शक्ति र भावनात्मक अनुभव
फुर्वाले यस गीतले आफूलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा स्थापित हुने अवसर दिएकोमा खुसी व्यक्त गरे । ‘संगीतको कुनै भाषा हुँदैन,’ उनी भन्छन् – ‘गीतको भाव, ऊर्जा र लय नै यस्ता थिए, जसले सम्पूर्ण टिमलाई एउटै तालमा बाँध्यो । फरक संस्कृति र भाषा हुँदा–हुँदै पनि संगीतले सबैलाई जोड्ने अद्भुत काम गर्यो ।’
गीतको सार्वजनिक प्रदर्शन
‘खर्चा मार दा’ भिडियो गोल्डेन आवर फिल्म प्रोडक्सन युट्युब च्यानलमार्फत गत इद पर्वको अवसर पारेर सार्वजनिक गरिएको थियो । गीतले छोटो समयमै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ, र यो फुर्वाको अन्तर्राष्ट्रिय निर्देशन यात्राको नयाँ अध्यायको सुरुवात बन्न पुगेको छ ।
Source: https://www.kalakarmi.com/entertainments/song-music/180365/
Music Video: https://www.youtube.com
Comments (0)