• info@phurbasherpa.com.np
Login

आबुधाबीमा एआईले मिडिया र मनोरञ्जन क्षेत्रमा ल्याएको परिवर्तनको चर्चा

  • 28 Jan, 2026

आबुधाबीमा एआईले मिडिया र मनोरञ्जन क्षेत्रमा ल्याएको परिवर्तनको चर्चा


काठमाडौं । यूएईको आबुधाबीमा ब्रिज समिट आयोजना गरिएको छ । विश्वकै ठुलो मिडिया तथा कन्टेन्ट उद्योग सम्मेलन भनिएको तीन दिने कार्यक्रममा विश्व विभिन्न देशका मिडिया, प्रविधि, मनोरञ्जन, नीति निर्माण तथा सिर्जनशील उद्यमी तथा प्रतिनिधिहरूको सहभागिता थियो । 


सम्मेलनमा १३० भन्दा बढी देशबाट हजारौंको सहभागिता थियो । कार्यक्रममा ४०० भन्दा बढी अन्तर्राष्ट्रिय वक्ता, ३०० प्रदर्शक तथा सयौँ प्यानल छलफल, कार्यशाला, मुख्य भाषण र बन्दसत्रहरू आयोजना गरिएका थिए । आयोजकका अनुसार पहिलो संस्करणमै यति ठुलो सहभागिता रहेको मिडिया सम्मेलन विश्वमै दुर्लभ हो । 


ब्रिज समिट २०२५ लाई मिडिया, पिक्चर (फिल्म तथा टेलिभिजन), संगीत, गेमिङ, मार्केटिङ, प्रविधि, एआई र क्रिएटर इकोनोमीजस्ता विभिन्न विषयगत खण्डमा विभाजन गरिएको थियो । बन्दसत्रहरूमा डिजिटल प्लेटफर्मको तीव्र विकास, दर्शक व्यवहारमा आएको परिवर्तन, कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग तथा परम्परागत मिडिया र डिजिटल सिर्जनाकर्ताबीचको सहकार्यबारे गहन छलफल गरिएको थियो ।


यस्तै फिल्म, प्रविधि, खेलकुद, पत्रकारिता र नीति निर्माण क्षेत्रका विश्वप्रसिद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो । बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसले विश्वव्यापी कथावाचन, सिर्जनशील नेतृत्व र विविधताको महत्वबारे धारणा राखिन् । अभिनेता इड्रिस एल्बाले मिडियाले सामाजिक परिवर्तन र नयाँ पुस्ताको सशक्तीकरणमा खेल्न सक्ने भूमिकाबारे चर्चा गरे ।


रेडिटका सहसंस्थापक एलेक्सिस ओहानियनले एआईले मिडिया तथा मनोरञ्जन क्षेत्रमा ल्याएको परिवर्तनबारे चर्चा गरे । पूर्व फुटबलर तथा खेल उद्यमी जेरार्ड पिकेले डिजिटल प्लेटफर्म, दर्शक सहभागिता र क्रिएटर–आधारित मोडेलमार्फत खेलकुद प्रसारण कसरी रूपान्तरण भइरहेको छ भन्ने विषयमा आफ्नो किङ्स लिग परियोजनामार्फत प्रस्तुति दिए । चर्चित फुटबल पत्रकार फाब्रिजियो रोमानोले स्वतन्त्र डिजिटल पत्रकारिता र रियल–टाइम रिपोर्टिङको बढ्दो प्रभावबारे धारणा राखे ।


यूएई सरकारको तर्फबाट डिजिटल अर्थतन्त्रमन्त्री महामहिम ओमर सुल्तान अल ओलामाले स्टार्टअप,  डिजिटल नीति र जिम्मेवार एआई प्रयोगको आवश्यकता औंल्याए ।


सम्मेलनमा नेपाली टेलिभिजन कार्यक्रम निर्माता तथा निर्देशक फूर्वा शेर्पा पनि सम्मेलनमा सहभागी भएका थिए । 



Source: https://www.ratopati.com/story/530293/abu-dhabi-discusses-the-transformation-ai-is-bringing-to-the-media-and-entertainment-sector

No Tags

Comments (0)