• info@phurbasherpa.com.np
Login

अबुधाबीमा विश्वकै सबैभन्दा ठूलो डेब्यू मिडिया सम्मेलन

  • 28 Jan, 2026

अबुधाबीमा विश्वकै सबैभन्दा ठूलो डेब्यू मिडिया सम्मेलन


फुर्बा शेर्पा (डेलिगेट रिपोर्टिङ)

अबुधाबी- विश्वकै सबैभन्दा ठूलो पहिलो (डेब्यू) मिडिया तथा कन्टेन्ट उद्योग सम्मेलनका रूपमा परिचित ब्रिज समिट २०२५ संयुक्त अरब इमिरेट्सको अबुधाबीमा सम्पन्न भएको छ । डिसेम्बर ८ देखि १० सम्म अबुधाबी नेशनल एक्जिबिसन सेन्टर (एडनेक) मा आयोजना गरिएको तीनदिने सम्मेलनमा विश्वभरका मिडिया, प्रविधि, मनोरञ्जन, नीति निर्माण तथा सिर्जनशील उद्योगका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


सम्मेलनमा १३० भन्दा बढी देशबाट दशौँ हजार डेलिगेट सहभागी भएका थिए। कार्यक्रममा ४०० भन्दा बढी अन्तर्राष्ट्रिय वक्ता, ३०० प्रदर्शक तथा सयौँ प्यानल छलफल, कार्यशाला, मुख्य भाषण र बन्द सत्रहरू आयोजना गरिएका थिए । आयोजकका अनुसार, पहिलो संस्करणमै यति ठूलो स्तरको सहभागिता रहेको मिडिया सम्मेलन विश्वमै दुर्लभ मानिन्छ ।


मिडिया, प्रविधि र सिर्जनशील उद्योगको वैश्विक मञ्च


ब्रिज समिट २०२५ लाई मिडिया, पिक्चर (फिल्म तथा टेलिभिजन), संगीत, गेमिङ, मार्केटिङ, प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र क्रिएटर इकोनोमी जस्ता विभिन्न विषयगत खण्डमा विभाजन गरिएको थियो ।


सम्मेलनका सत्रहरूमा डिजिटल प्लेटफर्मको तीव्र विकास, दर्शक व्यवहारमा आएको परिवर्तन, कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग तथा परम्परागत मिडिया र डिजिटल सिर्जनाकर्ताबीचको सहकार्यबारे गहन छलफल गरिएको थियो ।


विश्व प्रसिद्ध व्यक्तित्वहरूको सहभागिता


ब्रिज समिट २०२५ मा फिल्म, प्रविधि, खेलकुद, पत्रकारिता र नीति निर्माण क्षेत्रका विश्वप्रसिद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।


अभिनेत्री, निर्माता तथा उद्यमी प्रियंका चोपडा जोनस ले विश्वव्यापी कथावाचन, सिर्जनशील नेतृत्व र विविधताको महत्वबारे धारणा राखिन् । अभिनेता इड्रिस एल्बा ले मिडियाले सामाजिक परिवर्तन र नयाँ पुस्ताको सशक्तीकरणमा खेल्न सक्ने भूमिकाबारे चर्चा गरे ।


रेडिटका सह–संस्थापक एलेक्सिस ओहानियन ले कृत्रिम बुद्धिमत्ताले मिडिया तथा मनोरञ्जन क्षेत्रमा ल्याएको परिवर्तनबारे बोल्दै, प्रविधिको विकाससँगै मानव केन्द्रित ‘लाइभ अनुभव’ को महत्व झनै बढ्दै गएको बताए ।


पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा खेल उद्यमी जेरार्ड पिके ले डिजिटल प्लेटफर्म, दर्शक सहभागिता र क्रिएटर–आधारित मोडेलमार्फत खेलकुद प्रसारण कसरी रूपान्तरण भइरहेको छ भन्ने विषयमा आफ्नो किङ्स लिग परियोजनामार्फत प्रस्तुति दिए। चर्चित फुटबल पत्रकार फाब्रिजियो रोमानोले स्वतन्त्र डिजिटल पत्रकारिता र रियल–टाइम रिपोर्टिङको बढ्दो प्रभावबारे धारणा राखे । युएई सरकारको तर्फबाट कृत्रिम बुद्धिमत्ता तथा डिजिटल अर्थतन्त्र मन्त्री महामहिम ओमर सुल्तान अल ओलामा ले नवप्रवर्तन, डिजिटल नीति र जिम्मेवार एआई प्रयोगको आवश्यकता औंल्याए ।


मुख्य एजेन्डा र छलफल


तीन दिने सम्मेलनमा मिडिया उद्योगको भविष्यसँग सम्बन्धित विविध विषयहरू समेटिएका थिए । प्रमुख छलफलका विषयहरू यस्ता थिए:


कृत्रिम बुद्धिमत्ता र मिडिया: कन्टेन्ट उत्पादन, वितरण, न्यूज रूम व्यवस्थापन र नैतिक प्रयोगबारे गहिरो छलफल


क्रिएटर इकोनोमी: दिगो मोडेल, प्लेटफर्म, ब्रान्ड साझेदारी, स्वतन्त्र सिर्जनाकर्ताको अर्थतन्त्र


मिडिया विश्वसनीयता र भरोसा: गलत सूचना, तथ्य प्रमाणीकरण र दर्शक विश्वास


खेलकुद, गेमिङ र मनोरञ्जनको समिश्रण: युवा दर्शकलाई आकर्षित गर्ने नयाँ रणनीति


फिल्म, टेलिभिजन र स्ट्रिमिङ प्लेटफर्मको बदलिँदो स्वरूप: सह–निर्माण, वितरण र नयाँ वित्तीय मोडेल


विशेष सन्देश र सत्रहरू


ब्रिज समिटमा विश्व स्वास्थ्य संगठन (WHO) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रियसस ले ‘थुप्रै जानकारी भएकोले नै गलत सूचना फैलिन सक्छ’ भन्ने सन्देश दिएका थिए । स्ट्यानली टङ ले हङकङका कथाहरू विश्वव्यापी बनाउने चुनौती र सीमित स्रोतका बाबजुद सांस्कृतिक पुल निर्माण गर्ने अनुभव साझा गरे ।


चान्तल सालिबा ले विचारपूर्ण कथा सुनाउने कलाको महत्व र यसको प्रभावकारीताबारे चर्चा गरे। उनले संवाद, सहकार्य र सुनाइको माध्यमबाट दूरी घटाउन र साझा बुझाइ निर्माण गर्न सकिने कुरा प्रस्तुत गरे ।


जानेट याङले उदाउँदो फिल्ममेकर्सका लागि बदलिँदो परिदृश्य, नयाँ प्लेटफर्मका अवसरहरू र प्रामाणिक कथावाचनको महत्वबारे सुझाव दिइन् । एडेलिन हुलिनले विश्वव्यापी “Behind the Screens” सर्वेक्षणको परिणाम प्रस्तुत गर्दै ३०% भन्दा बढी क्रिएटरले उत्पीडन र घृणा भाषाको अनुभव गरेको देखाइन् । उनले भनिन्- ‘सिर्जनाकर्ताहरूका लागि सुरक्षित वातावरण आवश्यक छ ।’


सांस्कृतिक संवाद र संगीत


संस्कृति: समझदारीको पुल’ सत्रमा संगीत, फिल्म, डिजाइन र कथा सुनाउने कला कसरी हाम्रो धारणालाई आकार दिन्छ र ब्रान्ड तथा संगठनले जनता संग जोडिनको रणनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चर्चा भएको थियो । अजिज मराका र फैया योनान ले असलीपन (Authenticity) मार्फत संगीत भाषा भन्दा अघि पुग्ने क्षमता देखाए ।


डिजिटल प्लेटफर्म, सामाजिक मिडिया र एआई


ओमर कास्कास ले भने, समस्या प्रविधिमा नभई उचित ढाँचा (Framework) को अभावमा छ। स्पष्ट सीमाना र भरपर्दो स्रोत भएमा एआई सुरक्षित उपकरण बन्न सक्छ, विशेषगरी युवाहरूका लागि । स्टेफन केप्पलले भने- ‘डिजिटल पहुँच शक्तिशाली भए पनि वास्तविक मानव संवाद, उपस्थिती र समुदायमा केन्द्रित हुँदा मात्र अवसर बढी फैलिन्छ ।’


जोश कम्पेल, बार्ट याट्स, प्लेस्टिया अलाकाद, ग्रेगरी ग्यालान्त, सिन्जिन बेन लगायतका वक्ताहरूले डिजिटल मिडिया, सामाजिक प्लेटफर्म, मिडिया विश्वसनीयता र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गहन विचार राखे । ब्रेन्डन ग्रीन, ड्यानियल म्याक, एन्ड्र्यु जिमरन, ग्यारी वेनरचुक, आर्सेन वन्जर लगायतले सिर्जनाकर्ता र नेताहरूलाई उद्देश्य, सहयोग, र सृजनात्मकता केन्द्रित रणनीति अपनाउन सुझाव दिए ।


उल्लेखनीय अनुभव र अन्तर्दृष्टि


रिचर्ड एटियास, ब्रिज समिट बोर्ड सदस्य, UAE को रणनीतिक नेतृत्व र समिटको दृष्टिकोणको महत्वलाई उजागर गरे । बासेम युसुफ, राफाएल फ्रोइसार्ट, रॉस बटलर र अन्य अन्तर्राष्ट्रिय प्रतिभाहरूले ब्रिज समिटको विस्तृत स्तर, विविधता र सिर्जनात्मकता को अनुभव विश्वस्तरीय भएको र अरब दुनियाँमा पहिलोपटक यस्ता स्तरको मिडिया अनुभव जीवन्त भएको बताइन्।


समापन


पहिलो संस्करणमै अभूतपूर्व सहभागिता, बहुआयामिक एजेन्डा र विश्वव्यापी प्रभाव देखाउन सफल ब्रिज समिट २०२५ ले अन्तर्राष्ट्रिय मिडिया सम्मेलनहरूको नयाँ मापदण्ड स्थापना गरेको छ। सम्मेलनले विश्व मिडिया उद्योगको बदलिँदो दिशा र भविष्यका सम्भावनाहरूलाई स्पष्ट रूपमा उजागर गरेको सहभागीहरूको धारणा छ।

(यो रिपोर्ट ब्रिज समिट २०२५ मा सहभागी डेलिगेटका रूपमा गरिएको स्थलगत अवलोकनमा आधारित छ ।)



Source: https://www.kalakarmi.com/life-style/it/207713/


No Tags

Comments (0)